Section 30
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी गर्नेलाई सजाय
(१) दफा ३ को उपदफा (१) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ । (२) दफा ३ को उपदफा (२) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर मध्ये षडयन्त्र गर्ने व्यक्तिलाई उपदफा (१) बमोजिम र अन्य कसूर गर्ने व्यक्तिलाई उपदफा (१) मा उल्लिखित सजायको आधा सजाय  हुनेछ । (३) दफा ४ को उपदफा (१) मा उल्लिखित आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई विगो खुलेकोमा विगोको पाँच गुणा र विगो नखुलेकोमा एक करोड रूपैयाँसम्म जरिवाना र कसूरको गाम्भीर्य हेरी तीन वर्षदेखि बीस वर्षसम्म कैद हुनेछ । (४) दफा ४ को उपदफा (२), (३) वा (४) मा उल्लिखित आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई उपदफा (३) मा उल्लिखित सजायको आधा सजाय हुनेछ । (५) कानूनी व्यक्ति वा सोको प्रयोग गरी कुनै व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कसूर गर्ने व्यक्ति, पदाधिकारी वा कर्मचारीलाई उपदफा (१), (२),  (३) वा (४) बमोजिम सजाय हुनेछ । (६) उपदफा (५) बमोजिमको व्यक्ति, पदाधिकारी वा कर्मचारी पहिचान हुन नसकेमा त्यस्तो कसूर हुँदाको बखत प्रमुख भई कामकाज गर्ने पदाधिकारीलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ । (७) कुनै राष्ट्रसेवक वा सूचक संस्थाको पदाधिकारी वा कर्मचारीले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो व्यक्तिलाई उपदफा (१), (२), (३) वा (४) मा उल्लिखित सजायमा थप दश प्रतिशत सजाय हुनेछ । (८) कुनै कानूनी व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कानूनी व्यक्तिलाई प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको गाम्भीर्यका आधारमा देहायका कुनै वा सबै सजाय हुनेछः– (क) उपदफा (१), (२), (३) वा (४) बमोजिम हुन सक्ने जरिवानाको पाँच गुणासम्म जरिवाना गर्ने, (ख) अवधी तोकी सार्वजनिक खरीदमा निषेध गर्ने, (ग) अवधी तोकी उत्पादन वा सेवाको खरीद गर्न रोक लगाउने, (घ) हानि नोक्सानीको क्षतिपूर्ति भराउने, (ङ) इजाजतपत्र वा अनुमतिपत्र खारेज गर्ने, वा (च) त्यस्तो कानूनी व्यक्तिलाई खारेज गर्ने । (९) उपदफा (१) देखि (८) सम्म लेखिए बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा बिगो खुलेकोमा बिगो जफत गरी विगो बमोजिमको जरिबाना र विगो नखुलेकोमा दशलाख रुपैयाँसम्म जरिबाना हुनेछ ।